१६ जेठ ०७९, काठमाडौं । राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न भनेको छ ।
आयोगले सजाय पाउनुपर्ने व्यक्तिले उन्मुक्ति पाएको र सजाय नै नपाउनुपर्ने व्यक्तिलाई नियोजित ढंगले जेल सजाय गरिनु गम्भीर लापरवाही भएको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने बताएको हो ।
चोरी आरोपमा जेल परेका सुन्दर हरिजन आफ्नो कैद अवधि सकिएपछि सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको र रोल्पा कारागारमै मृत भेटिएपछि घटनाले गम्भीर मोड लिएको हो ।
आयोगले एक विज्ञप्ति जारी गरेर हरिजन मृत्युको घटनामा बाँके जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार प्रशासन बाँके, रोल्पा जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय र रोल्पा कारागार प्रशासनको गम्भीर लापरबाही भएको जनाएको छ ।
आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले के दलित कसैको सट्टामा जेल बस्न र अनाहकमा मारिनका लागि जन्मेका हुन् भन्ने गम्भीर प्रश्न उठेको छ र यसले दलितको मानव अधिकारको अवस्था कस्तो छ भन्ने संकेत गर्दछ ।’
यस घटनाको गम्भीर छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न र सुन्दर हरिजनको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न आयोगले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।













