
१५ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य तथा १२ वर्षअघि क्रान्तिकारी पत्रकार संघको संस्थापक अध्यक्ष रहेका महेश्वर दाहाललाई प्रेस सेन्टर नेपालको महाधिवेशनले पुुनः सेन्टरको पनि संस्थापक अध्यक्ष बनाइदिएको छ ।
बिहीबार उद्घाटन सत्र समापन भए लगतै सुरुभएको बन्द सत्र नेतृत्वका लागि विवाद बढेपछि शुक्रबारको सत्रमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा महेश्वर दाहालको अध्यक्षतामा ९९ सय सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको भए पनि पदाधिकारी तथा सचिवालय टुङ्गो लाग्न सकेको थिएन ।
तर, शनिबार पार्टी कार्यालय पेरिसडाँडामा प्रवक्ता पम्फा भुसालको समेत उपस्थितिमा बसेको ९९ सय सदस्यीय केन्द्रीय समितिको बैठकले ३३ सदस्यीय सचिवालय टुङ्गो लगाएपछि बसेको सचिवालयको बैठकले पदाधिकारीको टुङ्गो लगाएको छ ।
महेश्वर दाहाल नेतृत्वको पहिलो सचिवालय बैठकले पार्टीका पोलिटब्युरो सदस्य एवम् पूर्वसंयोजक तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

यसैगरी सचिवालय बैठकले ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी, लक्ष्मी पुन र देबराम यादवलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
बैठकले महासचिवको जिम्मेवारी बिष्णु सापकोटालाई दिएको छ भने भूगोल ७ प्रदेश र प्रतिष्ठानलाई १ प्रदेश मानेर कूल ८ प्रदेशबाट ८ जना सचिवसहित समावेशी, जनजाति, महिला, मधेशी, दलित गरी १५ जनालाई सचिवको जिम्मेवारी दिइएको छ ।
जसमा ओपेन्द्र शर्मा, उपेश महर्जन, मनोज घर्तिमगर, गोमा घिमिरे, रुबी श्रेष्ठ, प्रभा बोगटी, आस्था केसी, लक्ष्मण खड्का, एसबी थापा मगर, सुरेश यादव, बिबेक गौतम, पहल साउद, मणि बिक, मनिषा श्रेष्ठ र राजेश चाम्लिङलाई सचिवको जिम्मेवारी दिएको छ । साथै, सुरेशचन्द्र अधिकारीलाई कोषध्यक्षको जिम्मेवारी दिएको छ ।













