१४ पुस ०७७, रोल्पा। नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुनले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रिय व्यवसायीहरु आतंकित बनेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा बोल्दै नेता पुनले यस्तो बताएका हुन् ।
सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतवस आफू मातहत राखेर प्रधानमन्त्री ओलीले सुरुमै सबै चिज आफूमा केन्द्रित गर्ने संकेत देखाएको पनि उनले बताए ।
नेता पुनले भने, “हामीले सबै अधिकार एउटै व्यक्तिको अधीनमा राखेर मानिसहरुलाई आतंकित पार्ने लोकतन्त्र ल्याएका होइनौं ।”
यस्तै ‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई समेत तर्साएर आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भएको’ नेता पुनले बताए ।
यस्तै नता पुनले संविधानमै नरहेको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै दलभित्र असहयोग भएको बहानामा जनमतको अपमान गर्ने छुट प्रधानमन्त्रीलाई नरहेको पनि बताए ।
उनले दशौं हजारको बलिदानीबाट आएको परिवर्तन खोस्न नदिइने प्रष्ट पारे ।