दाङको स्वर्गद्वारी गुठीपीडित मोही माइतीघर मण्डलामा धर्नामा

२५ माघ ०८१, काठमाडौं । दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू काठमाडौंको माइतीघर मण्डलामा धर्नामा रहेपनि सरकारले उनीहरुको माग सुनुवाई गरेको छैन् ।

स्वर्गद्वारी गुठी पीडित किसानहरू पटक–पटक काठमाडौं आएर प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिहरूलाई भेट्ने गरेपनि मागको सुनुवाई नभएको हो ।

गुठीपीडित मोही किसानहरूका मुख्यतः तीन वटा माग छन् । जसमा पहिलोः विशेष प्रकृतिको भनिएको निजी गुठी जग्गाका निष्काशित मोहीको हक पुनस्र्थापित गरियोस् भन्ने रहेको छ ।

यस्तै दोस्रो माग किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरियोस् भनिएको छ ।

यसैगरी तेस्रो माग जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गरियोस् भन्ने छ ।

किसानका यी माग र निरन्तरको धर्नाबारे विगतमा सहमति भएपपनि कार्यान्वयन नभएको र समस्या समाधानमा सरकारको तदारुकता नदेखिएको भनेर उनीहरू फेरि काठमाडौं आएका हुन् ।

सांसदहरूले शुक्रबारको संसद् बैठकमा समेत यी सवालमा विषय उठाएका थिए तर सरकारको ध्यानाकर्षण गर्ने प्रयास अधुरै रहेको पीडितहरुको गुनासो गरेका छन् ।

दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू यही माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा छन् ।