३ मंसिर ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश)को निधनले सिङ्गो पार्टी र आन्दोलनलाई क्षति पुगेको जनाएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले एक शोक वक्तव्य जारी गर्दै दाहालको निधनले पार्टीले युवा, जुझारु उदयीमान नेता तथा कुशल व्यवस्थापक गुमाएको बताएकी हुन् ।
वक्तव्यमा सानै उमेरबाट नै पार्टीमा सक्रिय साकार दाहाल (प्रकाश) २०५७ सालदेखि पार्टीको पूर्णकालिन भई केन्द्रीय कार्यलयमा पार्टी अध्यक्षको निजी सचिवको जिम्मेवारीमा रहनुका साथै दुवै पटक प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयमा रहेर भूमिका निर्वाह गरेको उल्लेख छ ।
साकारको निधनले सिङ्गो परिवारलाई परेको चोटबाट पार्टी अत्यन्त्तै मर्माहत भएको र शोकको घडीमा परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकमा सिङ्गो पार्टी श्रद्धेय अध्यक्षसँगै रहेको बताएको छ ।














