दुई मन्त्रीसहित प्रचण्ड पुगे सप्तरीको बाढी प्रभावित क्षेत्रमा

३२ साउन ०७४, राजविराज । बाढी पीडितले राहत वितरणमा ढिलाई भइरहेको गुनासो गरी रहेका बेला सत्ता सझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री प्रचण्डसहित दुई मन्त्रीले बुधबार सप्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

बाढी पछिको अवस्था बुझ्न सप्तरी आइपुगेका प्रचण्डले बाढी ग्रस्त क्षेत्रको निरीक्षण र प्रभावित क्षेत्रमा राहत वितरण पश्चात देउरी भरुवामा बाढी पीडित, स्थानीयवासी र सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुखमा साथ दिन आफू यहाँ आइपुगेको बताए ।

बाढीबाट ज्यान गुमाएका मृतक परिवारलाई सरकारले २ लाख दिने घोषणा गरिसकेको जानकारी दिँदै उनले सो रकमा वृद्घि, विस्थापितलाई पुनर्वास र राहतका लागि सरकार र पार्टी दुबैस्तरबाट सहयोग गर्ने प्रतिवद्घता जनाए ।

उनले भुकम्पका बेला पहाडका पीडितहरुलाई मधेशबाट उल्लेख्य सहयोग पुगेको स्मरण गर्दै अहिले मधेशमा दुःख पर्दा पहाडबाट सहयोगका हातहरु बढ्नुले आपसी सदभाव र सहयोगमा वृद्घि गरेको बताए ।

उनले बाढीले बेपत्ता बनाएको डोमी यादवको परिवारलाई समेत भेटेर सरकार र पार्टी दुबैबाट सहयोग गर्ने अश्वासन पनि दिए ।

बाढी पीडितलाई राहत र दीर्घकालीन बासका लागि सरकारले कुनै कसर बाकी नराख्ने

गृहमन्त्री जनार्दन शर्माले बाढी पीडितलाई राहत र दीर्घकालीन बासका लागि सरकारले कुनै कसर बाकी नराख्ने प्रतिबद्घता जनाउँदै पीडितहरु कोही पनि भोको बस्नु नपरोस् भन्ने हिसाबले सबै कामहरु अघि बढाई सकिएको बताए ।

उनले बाढीका कारण बाटो घाटो अवरुद्घ हुँदा राहत वितरणमा समस्या भएपनि अहिले सबै सहज भइसकेकाले राहत वितरणमा कुनै समस्या नरहेको बताए ।

दशगजा क्षेत्रमा भारतीय पक्षले बनाएको बाँधका कारण बर्षेनी सो क्षेत्रमा बाढीको समस्या उत्पन्न हुने गरेको स्थानीयले गरेको गुनासोको जवाफमा उनले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा यस विषयमा कुटनीतिक पहल मार्फत् सामाधानको उपाय खोजिने बताए ।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव नहुने

आपूर्ति मन्त्री शिव कुमार मण्डलले बाढी प्रभावित क्षेत्रमा कुनै पनि हालतमा खाद्यान्नको अभाव हुन नदिने प्रतिबद्घता जनाउँदै खाद्य संस्थान मार्फत् बाढी प्रभावित क्षेत्रका लागि आवश्यक खाद्यान्न वितरणको व्यवस्था मिलाई सकिएको जानकारी दिए ।

सो क्रममा पीडितहरुले सबैलाई प्रयाप्त राहत नपुगेको गुनासो गरेका थिए । प्रचण्डका साथै आएका गृह मन्त्री शर्मा र आपूर्ति मन्त्री मण्डलसहितको टोलीले स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँग बाढीको क्षति र तत्काल गर्न सकिने कामका बारेमा पनि आवश्यक छलफल गरेका थिए ।

 

तपाइको मत