दुई विदेशी नागरिक एटीएमबाट पैसा चोरी गरेको आशंकामा पक्राउ

५ चैत, पोखरा । प्रहरीले पोखराको लेकसाईडबाट दुई विदेशी नागरिकलाई एटीएमबाट डाटा चोरी गरी पैसा झिकेको आशंकामा पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको लेकसाईडमा फ्ल्याट भाडामा लिएर बस्दै आएका बुल्गेरियन नागरिक रामोन डिमोभ र मार्टिन ऋस्टोर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ३ लाख, एटीएम चिफ रिडर, चोर्न प्रयोग गरिएका अन्य सामग्री, भिसा कार्ड तथा ल्यापटप लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चोरीको पुष्टी नभएपनि शंकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका बुल्गेरियन नागरिकहरुले हिमालयन वैंक र नविल वैंकको लेकसाईडस्थित एटीएमबाट पैसा झिकेको प्रहरीको आरोप छ ।

२ दिनअघि नबिल वैंकबाट पैसा झिक्ने क्रममा वैंकका कर्मचारीलाई शंका लागेपछि वैंकमा लगाइएको सिसी क्यामराको फुटेज हेर्दा घटनाको खुलासा भएको थियो । त्यसपछि प्रहरीलाई खबर गरेको र शनिबार विहान उनीहरुलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

तपाइको मत