दुर्घटना न्युनीकरण गर्न सवारी चालकलाई सम्मान !

१२ असोज ०७६, मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङले सवारी चालकहरुलाई सम्मान गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालकहरुलाई मनाङ जिल्ला समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सम्मान गरिएको हो ।

चामे गाउँपालिका वडा नम्बर ४ मा भएको कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल र प्रहरी निरीक्षक श्रवण कुमार विकले सवारी चालकहरुलाई अविर र माला लगाइदिएर सम्मान गरेका हुन् ।

चालकलाई थप जिम्मेवार बनाउन सम्मान गरिएको भन्दै जीप चालक लक्ष्मण तामाङले भने, ‘प्रहरीको चेकिङमा प्रायः कारबाहीमा पथ्यौं, तर प्रहरीकै हातबाट अबिरमाला लगाउन पाउँदा थप जिम्मेवार महशुस भएको छ ।’

यसैगरी ग १ ज ६३९१ नम्बरका जीप चालक नारायण भण्डारीले सम्मानित भएकोमा खुसी व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरीप्रति आभार व्यक्त गरे ।

काठमाडौं ट्राफिकले पनि दुर्घटना नगराएका चालकलाई सम्मान गरिँदै

यसैगरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले दुर्घटना नगराएका चालकलाई सम्मान गर्ने भएको छ ।

दशैं, तिहार, छठ पर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरण भन्दै सवारी चालकलाई सम्मान गर्न लागेको हो ।

‘दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आज बिहान ७ जना चालकलाई सम्मान गर्दैैछौं’, महाशाखाका एसपी रविकुमार पौडेलले भने, ‘हामी असल चालकलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मानित गर्नेछौं ।’

एसपी पौडेलले बसपार्कमा कार्यक्रम आयोजना गरेर लामो दूरीका चालकलाई उत्प्रेरणा दिन फूलमाला लगाई सम्मान गरिने जानकारी दिए ।

उनले कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित हुने पनि बताए ।

तपाइको मत