दुल्लु नगरपालिका -३ निवासी एकजना कोभिड–१९ संक्रमितको मृत्यु

९ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले दैलेख जिल्ला, दुल्लु नगरपालिका वडा नं. ३ निवासी ४५ वर्षीय पुरुषको असार ८ गते बेलुका ९ः३० बजे प्रादेशिक अस्पताल सुर्खेतको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको बताए । साथै उनले मृतक क्षयरोग साथै दमको बिरामी रहेको पनि जानकारी गराए ।

उनको असार ३ गते स्वाबको नमूना संकलन गरिएको र असार ४ मा कोरोना पोजेटिभ पुष्टि भएको समेत प्रवक्ता गौतमले बताए । नेपालमा योसँगै कोरोना संक्रमितको मृत्यु हुने संख्या २४ पुगेको छ ।