देवनारायणलाई छुटाउन कुनौली थाना पुगे नेपाली अधिकारी

१७ असोज ०७४, सप्तरी । भारतीय प्रहरीको नियन्त्रणमा रहेका देवनारायण यादव बाबु-छोरालाई छुटाउन नेपाल र भारतका अधिकारीहरुबीच छलफल भएको छ ।

सप्तरीका सुरक्षा अधिकारीहरुले विहारको सुपोल जिल्लामा पर्ने कुनौली थाना पुगेर भारतीय अधिकारीहरुसँग कुराकानी गरेका छन् । अधिकारीहरुका अनुसार देवनारायण र उनका छोरालाई आजै वीरपुरस्थित अदालतमा पेश गरिँदैछ ।

उनीहरुविरुद्ध अपहरण मुद्दा चलाइएको छ । देवनारायणकी बुहारी ज्योती साहलाई पनि अदालतमा पेश गरिनेछ । अधिकारीहरुका अनुसार आधार कार्डबाट ज्योती नाबालिग नभएको खुलेको छ र देवनारायण बाबु-छोरा छुट्ने सम्भावना छ ।

देवका छोराले भारतकी ज्योतीलाई करिव ४ महिना अघि नै भगाएर विवाह गरेका थिए । त्यसबेला नै देवनारायण बाबु-छोरासहित चार जनाविरुद्ध अपहरण मुद्दा चलाइएको थियो ।

तर, दशैंको बेलामा ‘अर्केस्ट्रा’ नाच हेर्न शनिबार सीमा पारी गएका बेला देवनारायणका छोरालाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनलाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले हिरासतमा लिएको छ ।

उनीहरुविरुद्ध अपहरण मुद्दा चलाइएको छ । कुनौली प्रहरीले देवनारायणका छोराले विहारमा प्रतिवन्धित मदिरा सेवन गरेर होहल्ला गरेको आरोप पनि लगाएको छ ।

तपाइको मत