भारतीय हेपाहा प्रवृत्तिविरुद्ध अझ उत्साहका साथ लाग्ने देवनारायणको उदघोष

राजविराज । देवनारायण र उनका छोरालाई स्वागत र बधाईको ओईरो लाग्न थालेको छ । साथै, विभिन्न संघसंस्थाले उनको अभिनन्दन र सम्मान गर्ने तयारी पनि थालेका छन् ।

दशगजामा खाँडो खोला थुनेर भारतीय पक्षले निर्माण गर्न खोजेको बाँध विरुद्ध स्थानीयवासीको अगुवाई गरेका देवनारायण र उनका छोरा अजयलाई हालै भारतीय प्रहरीले युवती अपहरणसँग जोडेर जेल चलान गरेको थियो ।

यादव बाबु–छोरामाथि मानव अपहरण तथा शरीर वन्धक मुद्दा लगाई गत असोज १४ गतेदेखि भारतको वीरपुर कारागारमा राखिएको थियो ।

भारतीय प्रहरीको षडयन्त्रको हार र न्यायको जीत

तर ८ दिनको जेलबासपछि वीरपुर अनुमण्डलीय व्यवहार न्यायालका न्यायाधीश लालबहादुरप्रसादको आदेशबाट उनीहरु थुनामुक्त भएका छन् ।

शनिबार साँझ मुक्त भई गाउँ पुगेपछि रातीदेखि नै उनको निवासमा स्वागत र बधाई दिने शुभेच्छुकहरुको भीड जारी छ ।

‘म धेरै खुशी छु’ आइतबार निवासमा भेटन पुगेका सञ्चारकर्मीहरुसँग मुस्कुराउँदै देवनारायणले भने, ‘भारतीय प्रहरीको षडयन्त्रको हार र न्यायको जीत भएको छ ।’

उनले भारतीय युवतीको प्रसंग बहाना मात्र भएको दोहो¥याउँदै मुख्य कुरा भारतीय पक्षले २०७३ साउन १३ गते दशगजा क्षेत्रमा खाँडो खोला थुनेर निर्माण गर्न खोजेको बाँध विरुद्ध आफूले गरेको अुगवाईको बदला नै भएको बताए ।

उनले त्यतिबेलादेखिनै सीमावर्ती कुनौली थानाका थानेदार विनोद यादवले आफूलाई निगरानीमा राखेको र अहिले आएर भारतीय युवती अपहरणको झूठो मुद्दासँग जोडेर फसाउन खोजेको बताए ।

कुनौली बजारकी ज्योतिसँग छोरा अजयले प्रेम विवाह गरेपनि उनका दाजु संजिवलाई उचालेर थानेदार यादवले अपहरण मुद्दा लगाएको उनको भनाई छ ।

घटनाको दिन गत आसोज १३ गते शुक्रबारलाई सम्झदै उनले भने, ‘त्यो दिन छोरा अजय दुर्गापुजाको अवसरमा कुनौली बजारमा लागेको मेला हेर्न गएका थिए । त्यहाँ होहल्ला गरेको भन्दै प्रहरीले ३ नेपाली र ६ भारतीय गरी ९ जना युवालाई पक्राउ गरेको थियो । तर, भोलिपल्टै ६ जना भारतीयलाई रिहा गरिए पनि ३ जना नेपालीलाई हिरासतमै राखिएको थियो ।

देवनारायणका अनुसार त्यसको व्यापक विरोध भएपछि नेपालका २ जना युवासँग जनही ५/५ हजार भारतीय रुपैयाँ लिएर थुनामुक्त गरिए पनि थानेदार विनोदले अजयलाई भने अपहरणको मुद्दा लगाएका थिए ।

कसैले अजय देवनारायण यादवको छोरा भएको जानकारी गराएपछि दशगजा क्षेत्रमा भएको घटनाको बदला लिने सही मौका भएको ठान्दै थानेदार विनोदले मेरो नाम पनि जोडेर अपहरणको झूठो मुद्दा रचेको देवनारायणले सुनाए ।

छोरा पक्रेको भोलिपल्टै कुनौली थानामा बुझ्न जाँदा थानेदार यादव र उनकी श्रीमती समेत मिली आफूमाथि अभद्र शैलीमा प्रस्तुत भएको र कुटपिट गर्दै आफूलाई समेत थुनामा राखेको आँखामुनी लागेको गहिरो चोट देखाउँदै देवनारायणले सुनाए ।

दशगजा क्षेत्रमा हुने हस्तक्षेपको कडा प्रतिकार गर्ने

‘दशगजा घटनामा मैले निर्वाह गरेको भूमिकालाई नै लिएर रिसइबी साँध्ने र तर्साउने उदेश्यले नियोजित ढंगले मलाई र मेरो परिवारलाई दुःख दिने प्रयास भएको छ’ उनले भने, ‘तर म रतिभर डराएको छैन् । भविष्यमा पनि भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा हुने सबैखाले हस्तक्षेपको कडा प्रतिकार र प्रतिवाद गर्नेछु ।’

‘हिरासतमा राखेर मेरो हौसला तोडने भारतीय प्रहरीले सोचेका थिए, तर म अझ बुलन्द भएर निस्केको छु’ उनले भने ।

देवनारायणकी बुहारी ज्योतिले भारतीय प्रहरीले दाजु संजिवलाई उचालेर पति र ससुरामाथि अपहरण मुद्दाको उजुरी दिन लगाएको आरोप लगाउँदै न्यायालयबाट सत्यको विजय भएको प्रतिक्रिया दिइन् ।

अपहरणमा परेकी भनिएकी ज्योति स्वयम् न्यायालयमा उपस्थित भई आफनो अपहरण नभएको र राजीखुसी अजयसँग भागी प्रेम विवाह भएको बयान दिएपछि यादव बाबुछोराको रीहाईको बाटो खुलेको हो ।

स्थानीयवासीले भने दशगजा क्षेत्रमा भूमिरक्षाका लागि क्रियाशील देवनारायणमाथि भारतीय प्रहरीले फेरि पनि कुनै षडयन्त्र रच्न सक्ने शंका व्यक्त गर्दै नेपाल सरकार चनाखो हुनुपर्ने र कुटनीतिक पहल मार्फत् भारतको उच्च निकायमा यस विषयमा गम्भीरतापूर्वक कुरा उठाउनु पर्ने माग गरेका छन् ।

तपाइको मत