२७ पुस ०७४, कीर्तिपुर । गणतन्त्र घोषणा भएपछि पहिलो पटक मुलुकका विभिन्न ठाउँमा राष्ट्रिय एकता दिवस २९६ औँ पृथ्वी जयन्ती मनाइरहँदा कीर्तिपुरवासीले भने पृथ्वीनारायण शाह र दिवसको विरोध गरेका छन् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा)मा विरोधस्वरुप थुक्ने गर्दछन् ।
बिहीबार नेपा: प्रदेशमा आदिवासी जनजाति अभियान, नेवा: जागरण मञ्च र नेपा: युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरेका थिए । अभियानका संयोजक अर्जुन महर्जनले राज्यले राष्ट्रिय एकता दिवसका रुपमा पृथ्वी जयन्ती मनाउने घोषणा गर्नु कीर्तिपुरवासीको लागि अपमान हो भन्दै उनले भने – ‘भूगोल जितेर कीर्तिपुरवासी पुर्खाको नाक, कान काटिनु जघन्य अपराधलाई हामी स्वीकार्न सक्दैनौं । राज्यले यो दिवस खारेज गर्नैपर्छ ।’
त्यसैगरी कीर्तिपुरबासीले पृथ्वीनारायण शाहलाई ठेस लागेर लडेको ढुंगालाई पूजा गर्ने गरेको नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले बताए । एकीकरण अभियानमा प्रयोग भएका हातहतियारलाई कीर्तिपुरस्थित बाघभैरव मन्दिरको माथिल्लो भागमा झुण्ड्याएर प्रदर्शन गरिएको छ ।
त्यस अवसरमा मञ्चका संयोजक सुजीव बज्रचार्य, युथका संयोजक राजाराम तन्डुकार, अधिकारकर्मी कृष्ण भट्टचन, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल लगायतले विचार व्यक्त गरेका थिए । काठमाडौं असनदेखि कीर्तिपुरसम्म मोटरसाइकल विरोध र्याली र कीर्तिपुरवासीले देवढोकादेखि जुलुस प्रदर्शन गरेका थिए ।