देशभर ४२औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

 

८ साउन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

बुधबार साउन ७ गते श्रेष्ठको जन्मथलो रामेछापमा स्मृतिसभा तथा वृक्षरोपण गरी स्मृति दिवस मनाइएको छ ।

नेकपा बागमती प्रदेश सदस्य एवं मन्थली नगरपालिका उपप्रमुख माया कुमारी कार्कीलगायत जिल्लास्तरका नेता कार्यकर्ताले पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपी पुष्पलालको योगदानको सम्झना गरेका थिए ।

यस्तै पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीको पुष्पलाल स्मृति पार्कमा एक कार्यक्रम गरेर स्मृति दिवस मनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष वामदेव गौतम, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।

विसं २००६ बैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

श्रेष्ठको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।