२० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आइतबार प्रधानमन्त्री, सभामुखलगायत संसदमा प्रतिनिधित्व गर्ने २९ दलसँग देशमा बल्झिँदै गएको समस्याको निकास दिन आग्रह गरिन् ।
राष्ट्रपति भण्डारीले मुलुकको एकता र अखण्डता खतरामा रहेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि एकजुट हुन सबैलाई आह्वान गरेकी हुन् ।
‘आज देशले भोग्नुपरेको समग्र समस्याको निकास एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्दै अघि बढ्नु हो’ भन्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘संविधान कार्यान्वयन र संविधान संशोधनमा दलहरू एक ठाउँमा उभिनैपर्छ । अगामी १४ महिनामा स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गर्नुपर्ने दायित्व हामीमा छ । तपार्इंहरू वर्तमान परिस्थितिमा गम्भीर हुनुहोस्, एकअर्कालाई आरोपप्रत्यारोप लगाउनुभन्दा आफू ठिक छु भन्ने प्रमाणित आमजनताबीच गर्नुहोस् ।’
देश गम्भीर संकटमा फसिरहेको अवस्थामा संविधान संशोधन र कर्यान्वयन प्रस्तावमा पक्ष र विपक्षभन्दा पनि सहमति, सहकार्यसाथ टुंगोमा पुग्न सुझाव दिँदै उनले अरूलाई चोर दोष लगाउनुभन्दा आफ्नो थैलीको सुर्की राम्रोसँग बाँध्न नेताहरूसँग आग्रह गरिन् ।