काठमाडौं । कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधि ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापीरुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त रहेका छन् ।
बैठकमा कोभिड १९ को प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनामक्रम, पार्टी एकता र भावी योजनाका बारेमा छलफल गरिएको छ । सो अवसरमा बोल्दै अध्यक्ष थापाले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनको निमित्त क्रियाशिल हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद अहिलेको डरलाग्दो समस्या भएको भन्दै मुलुकलाई समृद्धिको दिशामा लैजानको निमित्त राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र सम्भव हुने दाबी गरेका छन् ।
झण्डै दुईतिहाइको बहुमतप्राप्त सरकार जनताको नजरमा दिन प्रतिदिन असक्षम साबित हुँदै गइरहेको र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहीन देखिएको भन्दै राप्रपा अध्यक्ष थापाले आगामी दिनमा पार्टीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न संगठन केन्द्रित हुनुपर्ने बताएका छन् ।
पार्टी एकतालाई निष्कर्षमा पु¥याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफूले भरमग्दुर प्रयास गरिरहेको भन्दै उनले हदैसम्म लचकता प्रदर्शन गरेको बैठकका सहभागीहरुलाई जानकारी गराएका थिए ।
भर्चुअल बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिएका छन् ।