देश निर्माणमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : प्रधानमन्त्री

४ भदौ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘व्यावसायिक पत्रकारिताको आधार-प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आइतबारदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै  सञ्चारलाई सरकारले नियन्त्रण नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले सञ्चार क्षेत्रका लागि सरकार सहयोगी हुने विश्वास दिलाए । ‘सरकारले विज्ञापन लगायत कुनै पनि विषयमा मिडियालाई कन्ट्रोल गर्दैन,’ उनले भने ।

प्रधानमन्त्रीले भने -‘नेपालमा मिडिया धेरै छन्, ती आर्थिक रुपमा कमजोर छन्, पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु।’ उनले संविधानले अभिव्यक्ति र पूर्ण प्रेस स्वतन्त्रताको हक प्रत्याभूत गरेको उल्लेख गर्दै  संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्रै सबै निर्वाचन गर्नुपर्ने बताए।

मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा मिडियाकर्मीको अत्यन्त महत्वपूर्ण योगदान रहेको र अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ बढी योगदान गर्नुपर्ने बताउँदै, राजनीतिक दल र मिडिया एक साथ हिड्न जरुरी रहेको बताए ।

कार्यक्रममा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतले सम्बोधन गरे ।

महासंघको बन्द सत्र आइतबारदेखि नै सुरु हुने र सोमबार बिहानैदेखि निर्वाचन कार्यक्रम सुरु हुने अध्यक्ष विष्टले जानकारी दिए ।

पत्रकार पुरस्कृत 

प्रधानमन्त्री देउवाले पत्रकार महासंघले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरे ।  पुरस्कारको राशि एक लाख छ ।

त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भैरव रिसाल र कृष्ण सेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कोमल बराललाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि जनही ५० हजार छ ।

त्यस्तै ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सीमा सिंह शर्मा र ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ पुष्कर थापा (मरणोपरान्त) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही २५ हजार छ ।

कार्यक्रममा ‘स्वतन्त्र सेनानी सम्मान’ हर्ष सुब्बा (सुनसरी), अशोक रौनियार (धनुषा), वसन्त पोखरेल (रूपन्देही) र रामबहादुर केसी (सिन्धुपाल्चोक) लगायत १२ जनालाई प्रदान गरिएको छ ।

सोही अवसरमा पत्रकार महासंघ भारत शाखाले ४० हजार र पत्रकार महासंघ काभ्रे शाखाले रु ५० हजार बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् ।

नयाँ नेतृत्वका लागि प्रत्येक तीन/तीन वर्षमा हुने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव १, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

 

 

 

 

 

तपाइको मत