देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने शक्ति माओवादी नै हो – प्रचण्ड

९ कार्तिक ०८२, गोरखा । नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्डले अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने शक्ति माओवादी भएको बताएका छन् ।

आज गोरखामा पार्टी कार्यकर्तासँगको भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।

संयोजक प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिँदै भने, “जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ ।”

उनले अन्तरिम सरकारका सन्दर्भमा थपे, “केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ । तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो ।”

चुनावको सन्दर्भमा संयोजक प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह समेत गरे ।

“अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु,” उनले भने, “चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन ।”

“हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ । आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन् ।”

संयोजक प्रचण्डले जेनजीहरु पछिल्लो समय आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै गरेको पनि बताए ।

प्रतिगामी खतरा कायमै रहेको भन्दै प्रचण्डले तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागिरहेकाले त्यस्ता तत्वबाट सावधान रहन जोड दिए ।