१७ जेठ ०७७, दैलेख । जिल्लाको दुल्लु नगरपालिका ७ स्थित क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले शनिबार बिहान मृत्यु भएको युवकको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको बताएका हुन् ।
स्वास्थ्य शिक्षा अधिकृत जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “दुल्लु नगरपालिका वडा नं. ७, पटांगिनी बजार, दैलेखस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहनुभएका दुल्लु नगरपालिका वडा नं. ११, खागितडा, दैलेख निवासी ३५ वर्षीय पुरुषमा कोभिड–१९ सँग सम्बन्धित लक्षणहरु नभएको तथा आज बिहान ७ः०० बजे एक्कासी ढल्नुभएको र केही समयमा वहाँको मृत्यु भएको साथै मिति २०७७/०२/१५ मा निजको कोभिड १९ को स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पठाइएको र आज नतिजा पोजिटिभ आएको व्यहोरा अनुरोध गर्दछु ।”
दुल्लू नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले ३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको र कोरोना संक्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको जानकारी दिए ।
गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका वडा न ११ का ती युवकको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।














