१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पहिलो किस्ताको अनुदान रकम असोज २० गतेभित्र दिइसक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गर्दै ४५ दिनभित्र पहिलो किस्ताको ५० हजार दिइसक्ने निर्णय गरेका थिए । सोमबारसम्म ४ लाख ५५ हजार ८९ परिवारसँग अनुदान सम्झौता भइसकेको छ भने बाँकीसँग सम्झौता नै हुन बाँकी छ ।
बैठकले पहिलो किस्ता पाइसकेकाहरुलाई दोस्रो किस्तामा १ लाख ५० हजार दिने निर्णय भएको छ भने तेस्रो किस्तामा १ लाख उपलब्ध गराइनेछ । तर, थपिएको एक लाख रुपैयाँको अनुदानमा शौचालय वा बायोग्यासमध्ये एक बनाउनु पर्ने शर्त थप गर्ने प्राधिकरणको निर्णय छ ।
निर्देशक समितिको बैठकले भूकम्पबाट अति प्रभावित १७ जिल्लाको थप लगत संकलनका लागि प्राविधिक टोली खटाउने निर्णय गरेको छ । यसरी परिचालन हुने प्राविधिक समितिले अहिले भूकम्प प्रभावित परिवारको सूचीमा छुटेकाहरुको नाम संकलन गर्ने, अहिलेको प्रगति हेर्न र यसअघि बाँडिएको अनुदान रकम कसरी खर्च भइरहेको छ, त्यसको लगत संकलन गर्नेछ ।
बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको कामलाई तिब्रता दिन प्राधिकरणका उपक्षेत्रीय कार्यालयलाई जिल्ला तहमा विस्तार गर्ने र हालका उपक्षेत्रीय कार्यालयलाई जिल्ला समन्वय समितिको सचिवालयका रुपमा परिणत गर्ने निर्णय पनि गरेको छ ।
प्राधिकरण अन्तरगत हाल बढी प्रभावित १४ जिल्लाका लागि ६ वटा र कम प्रभावित १७ जिल्लाका लागि एउटा गरी सात वटा उपक्षेत्रीय कार्यालय छन् ।