विद्यालयमा पहेंलो रङ्ग लगाउन सरकारको निर्देशन

१२ चैत्र ०७४, काठमाडौं ।  शिक्षा विभागले देशभरका विद्यालय भवनलाई एकै रङ्गको बनाउन निर्देशन दिएको छ ।

विभागले सबै जिल्ला शिक्षा कार्यालयमा पत्रचार गरी सम्पूर्ण संरचना एकै रङ्गको बनाउन निर्देशन दिएको  हो ।

विभागले  विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन निर्देशन दिएको हो । सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो । तर, यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ ।

निर्देशिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्नेछ र फिका पहेंलो रंग लगाउनुपर्नेछ । पहेंलो रंग उज्यालो हुने र वुद्धिजिवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको शिक्षा विभागका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।

भवनको छानो रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्नेछ । यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्नेछ ।

कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । कार्यमा एकाग्रता ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रंग प्रयोग गर्न भनिएको विभागका प्रवक्ता दाहालले बताए ।

यसैगरी सिलिङ, सभाकक्ष, करीडोर र भर्‍याङको भित्ताको माथिल्लो भागमा सेतो रंग लगाउन विभागले भनेको छ । करीडोर र भर्‍याङको तल्लो भागमा भने खैरो रंग लगाउनुपर्नेछ ।

 

 

तपाइको मत