४ माघ ०७४, काठमाडौं । धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन उग्र भएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।
बिहीबार प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो । सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई तोकेको छ ।
साढे ११ बजेदेखि लागु हुने गरी धनकुटा बजारक्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले बताए । उप्रेतिका अनुसार जिरोपईन्ट, बसपार्क, बिहिबारे हटिया, लोकसेवा, आँखा अस्पताल लगायत ठाउँमा कर्फ्यू आदेश जारी गरिएको बताए ।
त्यस्तै पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरिएको छ । आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा रहेको फर्निचरमा आगो लगाएका थिए । आगलागीवाट टेवल, कुर्सीलगायत फर्निचर जलेका छन् । आक्रोशित आन्दोलनकारीले सो कार्यालयको झ्यालमा रहेको सीसा समेत फुटाएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहारसमेत गरेको थियो ।
त्यस्तै आन्दोलनकारीले डिभिजन सहरी विकास कार्यालयमा समेत तोडफोड गरेका छन् । सो कार्यालयमा रहेको को १ त १०६४ नम्वरको वाइकलाई समेत जलाइएको छ । उच्च अदालत विराटनगर धनकुटा इजलास, सरकारी वकिल कार्यालयको नयाँ भवनको झ्यालको सीसा समेत आन्दोलनकारीले फुटाएका छन् ।
त्यसैगरी आन्दोलनकारीले आगो निभाउन हिंडेको धनकुटा नगरपालिकाको दमकल र दलित हकहित समन्वय समिति केराबारी मोरङको को २ च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् ।
प्रहरीको लाठिचार्जबाट नेपाली कांग्रेस धनकुटाका कोषाध्यष दिनेश राईसहित सातजना घाइते भएका छन् । घाइते राईको टाउकोमा गम्भीर चोट लागेकाले उनको टाउकोमा ६ टाका लगाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेकाले उपचार पछि घर फर्किसकेको धनकुटा अस्पतालले जनाएको छ ।