१९ पुस ०७४, धनकुटा । प्रदेश नं. १ को प्रादेशिक राजधानी धनकुटामा हुनु पर्ने माग गर्दै धनकुटामा जारी आम हड्तालले जनजीवन प्रभावित बनेको छ ।
धनकुटाबासी बिहानैदेखि आन्दोलनमा उत्रिएर कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द गराएकाले जनजीवन प्रभावित बनेको हो । बन्दकर्ताले मोटरसाइकल समेत रोकेपछि सर्वसाधारणलाई बढी असर परेको छ ।
धनकुटा ६ स्थित आत्मारा ढाट नजिक आज बिहान बन्दकर्ताले मोरङ कारागारको को.१ झ ४८३ नंबरको सरकारी जिपलाई रोकेर तोडफोड गरेका छन् । जिपमा लाठी प्रहार गरिदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । बन्दकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बन्दका कारण दर्जनौं सवारी साधन धनकुटाको आत्मारा ढाट तथा जिरो प्वाइन्टमा रोकिएका छन् ।
सरकारले आफ्नो माग नसुनेकाले आन्दोलनलाई शसक्त बनाउँन धनकुटा बजार, पसल, कलकारखाना समेत बन्द गराएका तर एम्बुलेन्स, प्रेस जस्ता अत्यावश्यक सवारी साधन तथा शिक्षण संस्था भने सञ्चालनमा रहेको आन्दोलन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।













