धनगढीमा विप्लप नेतृत्वको कार्यकर्ता र प्रहरीबीच झडप

२४ चत्र ०७४, धनगढी । नेपाल कम्युनिस्टपार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’)नेतृत्वको  कार्यकर्ता र प्रहरीबीच धनगढीमा झडप भएको छ ।

शनिबार कम्युनिस्ट पार्टीले जनआन्दोलन दिवसको अवसर पारी धनगढीमा प्रदर्शन गर्दै ट्राफिक चौराहमा पुग्दा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप भएको हो ।

जुलसलाई रोक्न खोज्दा विप्लव कार्यकर्ता प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले जुलुस रोक्ने प्रयास गर्दा झडप भएको जानकारी दिए । प्रहरीले हस्तक्षेप गर्दा जुलुस तितर बितर भएको थियो ।

झडपपछि प्रहरीले विप्लवका १८ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका कञ्चनपुर इन्चार्ज दलबहादुर धामी, सेती अञ्चल ब्यूरो कार्यालय सचिव डबल शाह, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य वीरेन्द्र शाहलगायत रहेका छन् ।

झडपमा केही प्रहरी जवान समेत घाइते भएका छन्। झडपपछि धनगढीको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । कैलाली र कञ्चनपुरबाट दुई हजारको हाराहारीमा आएका विप्लव कार्यकर्ताले हातहातमा झण्डा र जनसत्ता लागू गर, जनता माथिका दमन बन्द गर जस्ता नारा लेखेका प्ले कार्ड बोकेका थिए ।

प्रहरीले प्रशासनलाई पूर्वसूचना बिना नै कार्यक्रम गरेकाले जिल्ला सुरक्षा समितिले कार्यक्रम गर्न नदिने निर्णय गरेको जनाएको छ । तर, नेकपामा महाकाली ब्यूरो ईञ्चार्ज असिना र सेती ब्यूरो इञ्चार्ज सिकन्दरले प्रेस विज्ञप्ति प्रकाशित गर्दै प्रहरी हस्तक्षेपको निन्दा गरेका छन् । प्रहरी दमनमा ५३ कार्यकर्ता घाइते भएको उनीहरुको दाबी छ । उनीहरुले २० जना पक्राउ परेको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

तपाइको मत