धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल संचालन हुँदै

३ असोज ०७७, जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल संचालन हुने भएको छ ।

शुक्रबार अपरान्ह सरकारको पूर्वतयारी अनुसार चार इन्जिनसहितका दुई सेट डेमो रेल जनकपुरधाम आइपुगेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले सो रेलमा १२ सयदेखि १३ सयसम्म यात्रु बसेर, उभिएर यात्रा गर्न सकिने जानकारी दिएका छन् ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेलमार्ग निर्माण कार्य गतवर्ष सकिएको बताउँदै महानिर्देशक मिश्रले भने “सरकारले केही समय अघि कम्पनीको प्रमुख इञ्जिनीयर गुरु भट्टराईलाई नियुक्त गरिसकेको छ साथै कम्पनीले रेल सञ्चालनका लागि प्राविधिकसहित आवश्यक कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ, अब छिट्टै रेल संचालनमा आउनेछ ।”

उनले हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुने जानकारी दिँदै कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताए ।

महानिर्देशक मिश्रले नेपालमा रेल सेट आइपुगे पनि सञ्चालन लागि स्पष्ट कानून नरहेकाले हाल रेलसम्बन्धी विधेयक छलफका क्रममा रहेको बताए ।

नेपालमा अहिलेसम्म रेलसम्बन्धी छुट्टै कानूनी व्यवस्था छैन ।

जनकपुरमा शुक्रबार दिउँसो रेल आउँदै गर्दा स्थानीयहरु कोरोना संक्रमणको कुनै प्रवाह नगरी रेल हेर्न पुगेका थिए ।