८ मंसिर ०७४, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि जारी भएपछि धादिङमा नेपाली काँग्रेसका कार्यकर्तामाथि आक्रमण भएको छ ।
शुक्रबार नीलकण्ठ नगरपालिका-१४ धुवाँकोटटार निवासी २६ वर्षीय सन्तोष बस्ताकोटीमाथि बिहान पौने ६ बजे घरमै आक्रमण भएको हो ।
काँग्रेसका धुवाकोट गाँउ समितिका संयोजक बस्ताकोटीलाई खुकुरी, रड लगायतका हतियार लिएर आएका समूहले आक्रमण गरेको परिवारले जानकारी दिए ।
आक्रमणबाट घाइते बस्ताकोटीको टाउकोको दाँया भाग र दुवै खुट्टामा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टर ल्याएको नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश धमलाले बताए ।
कांग्रेस धादिङले निर्वाचन नजिकिदै जाँदा मतदातालाई त्रसित बनाउने उद्देश्यले आफ्ना कार्यकर्तामाथि धुवाकोटका एमाले नेताहरुको निर्देशनमा आक्रमण भएकाले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।
घटनास्थल नजिकै घर भएका नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार डाक्टर रामकुमार अधिकारीले भने आफ्ना कार्यकर्ताले आक्रमण गरेको नभई व्यक्तिगत कारणले झगडा भएको बताए ।
आक्रमणको खबर पाउने वित्तिकै घटनास्थलतर्फ प्रहरी पठाइएको भएपनि घटनाबारे विस्तृत विवरण नआइसकेको जिल्ला प्रहरी प्रमुख ध्रुवकुमार राउतले जानकारी दिए ।













