२८ जेठ ०७४, काठमाडौं । कर्मचारी सञ्चय कोष र नेपाल वायुसेवा निगमबीच नयाँ जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
आइतबार कर्मचारी सञ्चय कोष र वायुसेवा निगमबीच सम्झौतामा हस्ताक्षर भएको हाे ।
वायुसेवा निगमसँग नागरिक लगानी कोषले पनि भोलि सोमबार यस्तै सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
नागरिक लगानीकोषसँग आजै समझौता गर्ने भनिए पनि समय अभावका कारण हस्ताक्षर कार्यक्रम भोलिलाई सारिएको हाे ।
निगमलाई कोषले सरकारको जमानीमा ऋण दिने गरी सम्झौता गरेको हो । ऋणको अवधि १५ वर्षको हुनेछ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋण लिन लागेको छ ।
निगमले अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज शहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेश क्लासका सिट क्षमताका हुनेछन् ।
नयाँ जहाज नेपाल आएपछि नेपाल एयरलाइन्सले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्ने बताइएकाे छ ।