नयाँ भवनमा खोट छैन्, शिक्षणमा पनि कुनै खोट हुनुभएन – पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं शंखरापुर–२ स्थित पुनर्निर्मित अत्याधुनिक शारदा माध्यामिक विद्यालय

काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माध्यामिक विद्यालयले अत्याधुनिक भवन पाएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार शारादा माविलाई पुनर्निर्मित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालशारादा माविलाई पुनर्निर्मित अत्याधुनिक भवन हस्तान्तरण गर्दै ।

भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौंले पुनर्निर्माण गरिदिएको हो ।

एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा निर्मित २२ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

यस भवनसँगै एसियाली विकास बैंकको ऋण सहयोगमा काठमाडौंमा बन्नुपर्ने ११ वटै भवनको निर्माण सम्पन्न भएको छ ।

विद्यालयको जिम्मा टिकाउने र सिकाउने


विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुनर्निर्मित भवनमा विद्यार्थी भरेर उनीहरुलाई टिकाउने र सिकाउने जिम्मा विद्यालयको भएको बताए ।

विद्यालयको भवनमात्रै ठूलो तर, कक्षा कोठा खाली नहोस्, नेपालले भने, “जसरी नयाँ भवनमा कुनै खोट छैन्, त्यसरी नै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनु भएन ।”

सरकारले विद्यालय भवन, शिक्षक दरबन्दी, पाठ्यपुस्तक, तालिम, छात्रवृृत्ति दिइरहेको अवस्थामा अब सामुदायिक विद्यालयहरुले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याएर टिकाउँदै सिकाउँदै तह पार गर्नुपर्नेमा उनले जोड दिए ।

बालबालिकालाई किताबको घोकन्ते सिकाइभन्दा माथिल्लोस्तरको जीवनउपयोगी सीप र प्राविधियुक्त सिकाइ दिन आग्रह गर्दै पूर्वप्रधानमन्त्री नेपालले सिकाइलाई खेलकुद, गीत, नृत्य र स्विमिङ्गसँग पनि जोड्नु पर्ने बताए ।

“स्कूल बन्यो अब पढाइ बनाउनुस्,” नेपालले भने, “बालबालिकालाई कान समातेर होइन माया गरेर सिकाउनुस् ।”

आगामी दिनमा शिक्षकले पढाएको अनुगमन गर्न सुटुक्क कक्षाकोठामा आउने उद्घोष गर्दै उनले बालबालिकालाई स्कूल आउँ–आउँ लाग्ने बनाउन जोड दिए । विद्यालयलाई प्रविधियुक्त सिकाइका लागि सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए ।

सिकाइ विद्यार्थीको आकर्षण बन्नुपर्छ – रायमाझी


जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौंका प्रमुख अर्जुन रायमाझीले नयाँ बनेको विद्यालय भवनमा विद्यार्थी भर्न र गुणस्तरीय शिक्षा दिन स्थानीय सरकार र विद्यालयसँग आग्रह गरे ।

नयाँ भवनको संरक्षण र सुरक्षालाई ध्यान दिन आग्रह गर्दै रायमाझीले विद्यार्थी आकर्षित हुनेगरी सिकाइ सुधार्न शिक्षकहरुसँग आग्रह गरे ।

नयाँ भवनमा नयाँ शिक्षा दिइने प्रतिबद्धता
विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले नयाँ भवनमा नयाँ शिक्षा दिने प्रतिबद्धता जनाए ।

भवन नहुँदा भवनको चिन्ता रहे पनि अब सिकाइ र सुधारको चिन्ता रहेको भन्दै तामाङले प्रविधियुक्त सिकाइमा जोड दिने बताए ।