नयाँ मन्त्रीको शपथ शनिबार नै हुने भनी प्रकाशित समाचार असत्य – राष्ट्रपतिको कार्यालय

प्रधानमन्त्रीद्वारा निर्वाचन आचार-संहिता विपरीत मन्त्रिपरिषद् विस्तार

२७ असोज ०७४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार संहिता विपरीत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राप्रपाबाट पार्टी अध्यक्ष कमल थापासँगै चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । तर, सपथ कार्यक्रम भने तय भइसकेको छैन् ।

शुक्रबार शीर्ष नेताहरुले निर्वाचन आयोगमा पुगेर आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता जनाएलगतै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

निर्वाचन आयोगमा पुगेर शुक्रबार आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेपछि एमालेले विरोध गरेको छ भने सत्तारुढ माओवादी केन्द्र छलफलमा जुटेको छ ।

माओवादीले शनिबार यसबारे धारणा बाहिर ल्याइने बताएको छ ।

माओवादीले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि कांग्रेस सभपति समेत रहेका प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए ।

आयोगले यसअघि दुई राज्यमन्त्री नियुक्ति सच्याउन देउवालाई निर्देशनसमेत दिएको थियो । तर, प्रधानमन्त्री देउवाले उल्टै मन्त्रीहरु नियुक्त गरेर आयोगलाई चुनौती दिएका छन् ।

मन्त्रिपरिषद विस्तारको निर्णय बदर नगरे आयोगको भूमिका औचित्यहीन

एमालेले निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारको निर्णय बदर नगरे आयोगको भूमिका औचित्यहीन हुने र यस्तो आयोगले चुनाव सम्पन्न गराउन नसक्ने बताएको छ ।

प्रधानमन्त्री स्वयंले निर्वाचन आचार संहिताको धज्जी उडाउने काम गरेको भन्दै एमालेले पछिल्लो मन्त्री नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिनुपर्ने माग गरेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आयोगको निर्देशन विपरीत मन्त्रिपरिषद विस्तार गम्भीर घटना भएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताए ।

‘आचारसंहितालाई कडाइका साथ पालना गर्ने लिखित प्रतिबद्धता गरेर फर्किएलगतै मन्त्रिपरिषद विस्तार हुनु गम्भीर कुरा हो, एमाले नेता नेम्वाङले भने, ‘आयोगले यसलाई बदर गर्ने आदेश दिनुपर्छ ।’

नयाँ मन्त्रीको शपथ शनिबार नै हुने भनी प्रकाशित समाचार असत्य

केही सञ्चारमाध्यममा नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम शनिबार नै हुने भनी दिइएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापासहित सांसदहरुलाई शुक्रबार मन्त्रिपरिषदमा थप गर्न सिफारिस गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने बताइएको छ ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको हो ।

तपाइको मत