नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने

५ असोज ०७९, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार नरैनापुर गाँउपालिकामा आयोजना गरेको पोर्टल स्थानीयकरणसम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत् विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकाले पोर्टल सञ्चालनमा गाँउपालिकाले भूमिका खेल्ने बताए ।

कार्यशालालाई सहजीकरण गर्दै आई.एच.आर.आर.का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीयस्तरमा सूचित निर्णय लिन र नीति बनाउन समेत मद्दत पु¥याउने जानकारी दिए ।

उनले पोर्टल सञ्चालनका लागि आफूहरुले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यशालामा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी जोखिम साथै भूकम्प जस्ता भूगर्वीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शीत हुने बताए ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा सुरु भएको कार्यशालामा उपाध्यक्ष जयन्ती देबी श्रीवस्तव, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, विपद शाखाका प्रमुख लक्ष्मीकान्त शर्मा, सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौले, आईएचआरआरका टिम लिडर सुरज गौतम, नक्साका सुमिता मान्नधर, रोजिना ढकाल, एसडिएफका संचालक समितिका सदस्य रक्षा शर्मा र कार्यक्रम संयोजक तारा भुषाल लगायतको सहभागिता थियो ।