
काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनरत नर्सहरूले माफिया लेखिएको प्लेकार्ड प्रदर्शन गरेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ ।
तलब स्केल सम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा आज बसेको कार्यदलको बार्ताका क्रममा उनीहरुले आन्दोलनरत पक्षबाट देखाइएको अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
अफिन र नेपालले एक विज्ञप्ति जारी गरि बार्ताका क्रममा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा ‘माफिया’ लेखिएका प्लेकार्डहरूले बार्ताको वातावरण बिगारेको र आपसी विश्वासमा आघात पुर्याएको बताएका छन् ।
‘बार्ताका क्रममा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा ‘माफिया’ लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको घटनाले बार्ताको वातावरण बिगारेको र आपसी विश्वासमा आघात पुर्याएको छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
संघहरूले निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुलकभरका नर्सिङ पेशाकर्मीहरूको योगदानको उच्च सम्मान गरेको जनाएका छन् ।
‘नर्सहरूले उठाएका मागहरूप्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारका कारण हामी बार्ताको कक्षबाट निस्किन बाध्य भयौं’ विज्ञप्तिमा भनिएको छ ।
संघहरूले यस्ता परिस्थितिको जिम्मेवारी राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापनका कारण सिर्जना भएको ठहर गर्दै सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण अप्रिय स्थिति उत्पन्न भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निजी अस्पतालहरू देशभरका बिरामीलाई निरन्तर सेवा दिइरहेका छन् र आगामी दिनमा पनि स्वास्थ्यकर्मी तथा सरकारसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछौं । तर, भविष्यमा यस्तो अपमानजनक व्यवहार दोहोरिएमा हामी आफ्नो स्वाभिमान र सदस्य संस्थाहरूको प्रतिष्ठा रक्षा गर्न आवश्यक कदम चाल्न बाध्य हुनेछौं ।’














