नागरिकता विधेयकमा विरोधको सूचना दर्ता !

२८ असार ०७९, काठमाडौं । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसदले नागरिकता विधेयकमा विरोधको सूचना दर्ता गरेका छन् ।

एमालेका सांसद भीम रावल र शेरबहादुर तामाङ साथै नेमकिपाका प्रेम सुवालले नागरिकता विधेयकमा विरोधको सूचना दर्ता गरेका हुन् ।

राज्य व्यवस्था समितिले छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याइएको भन्दै एमाले सांसद रावलले राज्य व्यवस्था समितिकै अवहेलना भएको बताएका छन् ।

यस्तै एमालेकै अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरीत भएको लगायतका विषय उठाएका छन भने नेमकिपाका सांसद सुवालले संघ र प्रदेशको अलगअलग नेपाली नागरिकता व्यवस्था गर्नुपर्ने लगायतका विषय उठाएर विरोधको सूचना दर्ता गरेका छन् ।