९ असार ०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद बिमला नेपालीले यतिबेला नागरिकले सरकार छ भन्ने अनुभूति गर्न नसकेको बताएकी छन् ।
प्रनिनिधि सभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद नेपालीले विश्वलाई नै आतंकित बनाएको कोरोना नेपालमा बढिरहेको तर सरकारले क्वारेन्टाइन, आइसोलेसनको उचित व्यवस्था नगर्दा नागरिकले सरकारको अनुभूति गर्न नसकेको बताएकी हुन् ।
“क्वारेन्टाइनमा बलात्कारको घटना, जातीय विभेदका घटना साथै गाईगोठमा क्वारेन्टाइन बन्नु जस्ता अमानवीय कार्यले गर्दा नागरिकले सरकार छ भन्ने अनुभूति गर्न सकेको छैन्” सांसद नेपालीले भनिन् ।
उनले प्रधानमन्त्री र रक्षामन्त्रीलाई देशको भ्रष्टाचार छानविन संयन्त्रको पनि प्रमुख हो भनी प्रश्न उठाउँदै भनिन्, “कहिले प्रधानमन्त्रीबाट, कहिले रक्षामन्त्रीबाट सेनाले पीसीआर लगायतका स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको छैन् भनेको सुनिन्छ । के प्रधानमन्त्री, रक्षामन्त्री यो देशको भ्रष्टाचार छानविन संयन्त्र समेत प्रमुख हो ? कानुन पनि हातमा लिने काम भयो, सभामुख महोदय अब त अति नै भयो ।”