नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मन्त्रालय तानिए

१० असोज ०७४, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले गौतमलाई दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो । सोमबार स्पष्टीकरण पत्र बुझाएलगत्तै गौतमलाई मन्त्रीलाई सघाउने गरी मन्त्रालयमा तानिएको व्यहोराको पत्र थमाइएको छ ।

प्रशासन महाशाखाका उपसचिव प्रकाश शर्मा ढकालको हस्ताक्षर रहेको पत्रमा गौतमलाई मन्त्रालयमा हाजिर भएर पर्यटनमन्त्री जितेन्द्र देवलाई बिभिन्न चारवटा विषयमा नियमित रुपमा सुझाव दिने भनिएको छ ।

नेपालको नागरिक उड्डयन क्षेत्रलाई समग्र सुधार गर्न अवलम्वन गर्नुपर्ने नीति र गर्नुपर्ने कामबारे सुझाव दिने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि कोरियन कम्पनी एलएमडब्लूले तयार पारेको डीएफएसलाई अध्ययन गरी यस वापत भुक्तानी तिर्नुपर्ने सम्वन्धमा राय सुझाव दिने गौतमलाई भनिएको छ ।

यसैगरी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य सबै राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यप्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित राय सुझाव दिने र नेपालको नागरिक उड्डयनलाई थप सुरक्षित बनाउन स्थायी रुपमा हवाइ सुरक्षा जाँच व्यूरो स्थापना गर्ने सन्दर्भमा राय सुझाव दिने गौतमलाई लेखिएको पत्रमा उल्लेख छ ।

पर्यटन मन्त्रालयले २७ महिनाअघि गौतमलाई चार वर्षका लागि महानिर्देशक पदमा नियुक्त गरेको थियो । उनी सोमबारदेखि नै विदामा बसेका छन् ।

तपाइको मत