६ बैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप प्रतियोगिताको तेस्रो चरणमा नामिबियासँगको दुई खेलमा दुबै खेल जितेपछि अंक तालिकामा पुच्छरमा रहेको नेपाल ४ अंकसहित पाचौं स्थानमा उक्लिएको छ ।
नेपालले पहिलो चरणमा स्कटल्याण्ड र र दोस्रो चरणमा पपुवान्यूगिनीसँग चार खेलमा लगातार पराजित भएको थियो ।
तर, घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई शनिबार ५ विकेट र सोमबार ३ विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष ४ भित्र रहने सम्भावनालाई जीवितै राखेको छ ।
होम एण्ड अवेको अवधारणामा प्रत्येकले टिमले १४ खेल खेल्ने छन् भने शीर्ष स्थानमा पुग्ने चार टिम सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा ६ खेलबाट १० अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ भने युएई ६ खेलबाट २ अंकसहित आठौं स्थानमा छ ।