अहिले सडकखण्ड निर्माणका लागि जम्मा ८३ जना मात्रै कामदार छन् । अधिकांश कामदारहरु घर फर्किएका छन् । पहिरो आए पन्छाउनका लागि भन्दै केही स्थानमा डोजरहरु राखिएका छन् । गएको असार २५ गतेदेखि रातीको समयमा सडक बन्द गरेपनि दिउँसोको समयमा सडकमा सवारी चाप पर्न थालेको छ ।
ठेक्का अवधि सकिन ४ महिना बाँकी रहँदा जम्मा ५०.४ प्रतिशत मात्रै काम भएको छ । अहिले दिउँसोको समयमा दोहोरो सवारी साधन कुदने भएकाले काम लगभग ठप्प भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सामान्य मर्मत बाहेक अरु काम हुन नसकेको इन्जिनियर खनालले स्वीकार गरे ।
ठेकेदारको म्याद ६ महिना थप !
२ पटकसम्म म्याद थप गर्दा पनि लक्ष्य अनुसारको काम गर्न असफल ठेकेदारहरुको आयोजनाले पुनः तेस्रोपटक म्याद थप गरेको छ । आगामी २० फेब्रुअरी २०१८ सम्म निर्माण कार्य गरिसक्ने भन्दै २ जना ठेकेदारहरुको म्याद थप गरिएको हो ।
आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुपि्रम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि ६ महिना थप गरिएको छ । बीचको सडकखण्ड निर्माणको जिम्मा पाएको उड हिल तथा लामा निर्माण कम्पनीको भने समय थप गरिएको छैन । अन्य २ कम्पनीको भन्दा लामाको निर्माणमा प्रगति देखिएको भन्दै समय थप गरिएको हो ।
कुन ठेकेदारको कति प्रगति ?
३ वटै निर्माण कम्पनीहरुको औसत प्रगति ५०.९२ प्रतिशत अर्थात झण्डै ५१ प्रतिशत छ । यो समयसम्म औसत झण्डै ६८ प्रतिशत प्रगति हासिल गर्नुपर्ने थियो । लक्षित उद्देश्यभन्दा १८ प्रतिशत कम लक्ष्य आयोजनाले हासिल गरेको छ ।
आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ५१ प्रतिशत मात्रै काम सकाएको छ । उसको टार्गेट लक्ष्य यो अवधि ६२ प्रतिशत थियो ।
यस्तै, वीचको निर्माण जिम्मा पाएको उड हिल तथा लामा निर्माण कम्पनीको ५७.७९ प्रतिशत निर्माण प्रोग्रेस रेट छ । यसको लक्ष्य ८८ प्रतिशत थियो ।
तेस्रो मुग्लिनसम्मको सडकको जिम्मा पाएको सुपि्रम तथा रौताहा निर्माण कम्पनीको लक्ष्य ५९.३९ प्रतिशत भएकोमा ४८.५५ मात्रै काम भएको आयोजनाका परामर्शदाता इन्जिनियर पुष्कर रेग्मीले जानकारी दिए ।
कसको रकम कति ?
नारायणगढ-मुग्लिन सडक खण्डलाई एसियाली मापदण्ड अनुसार चार लेनको सडक बनाउँदै भन्दै ०७२ बैशाखबाट निर्माण कार्य आरम्भ गरिएको हो । यो सडकले काठमाडौं पोखरा जाने महत्वपूर्ण मार्ग पृथ्वी राजमार्गलाई जोड्छ ।
नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नेपाल-भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम शुरु गरिएको हो । ३६ किलोमिटर सडकलाई तीन खण्ड बनाएर फरक-फरक निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो ।
भरतपुरको आँपटारीदेखि झण्डै १३ किलोमिटरसम्मको सडकखण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई ६० करोड १० लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण गर्न जिम्मा दिइएको हो । २४ अपि्रल २०१६ मा ठेक्का सम्झौता भएको थियो । त्यसपछि साढे २३ किलोमिटरसम्मको सडक निर्माणको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई दिइएको छ । सो खण्डको लागत ९७ करोड ६६ लाख ८१ हजार रुपैयाँ रहेको छ । ३१ मार्च २०१६ मा सो खण्डको निर्माण सम्झौता भएको थियो ।
त्यसअघि २३ मार्च २०१६ मा निर्माण सम्झौता भएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीले नारायणगढदेखि २३.५ किलोमिटरदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको छ । सो खण्डको निर्माण लागत सबैभन्दा धेरै १ अर्ब ३० करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको छ ।