काठमाडौं । नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ ।
उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकासहितको उपस्थितिमा भएको हो ।
सीसीएमसीका तर्फबाट सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.श्री गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख श्री नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पु¥याउनेछ । यस कार्यका लागि सबै सुविधासहितका नासका ५ वटा एम्बुलेन्स सञ्चालन गर्नेछ ।
कोभिड १९ सम्बन्धी बिरामीहरुको ओसारपसार अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा रहेको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।
नासका अध्यक्ष रञ्जीत आचार्यले विश्वभरि फैलिरहेको कोराना भाइरसको महामारी घडीमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।
उनले भने, “नेपाल एम्बुलेन्स सेवा आभारी छौं, नासले यसैपनि कोभिड १९ को पूर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड १९ सम्बन्धित तालिम प्रदान गरी सेवा दिइरहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो । जस्तो सुकै विपदमा पनि आकस्मिकसहितको २४सै घण्टा सेवाका लागि तयार छौं ।”
नेपाल एम्बुलेन्स सेवाले सन् २०१० मा सञ्चालनमा आएदेखि हालसम्म ५०,००० भन्दा बढी बिरामीलाई सेवा पु¥याइसकेको छ भने ५५ भन्दा बढी शिशुको सुरक्षित डेलिभरी एम्बुलेन्समै गराएका छन् ।