निजामतीमा कर्मचारी भर्ना स्थगित, मेडिकल शिक्षामा शुल्क वृद्धिमा रोक

२८ असोज ०७५, काठमाडौं । सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न आग्रह गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगलाई आउँदो मंसिरअघि विज्ञापन नखोल्न आग्रह गर्ने निर्णय गरेको हो ।

आयोगले विभिन्न पदका लागि परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा प्रकाशित गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीको विवरण समयमै प्राप्त गर्न सकेको थिएन ।

कार्यतालिका अनुसार असोज दोस्रो सातासम्म उपसचिव र सहसचिवको रिक्त दरबन्दी विवरण आयोगमा प्राप्त भइसक्नुपर्ने र असोज ३१ मा परीक्षाको विज्ञापन गरिसक्नुपर्ने थियो ।

आयोग अध्यक्ष उमेश मैनालीले मन्त्रिपरिषद् निर्णयबाट करिब ८ लाख परीक्षार्थी प्रभावित हुने बताए । आयोगले प्राविधिक र प्रशासनतर्फका शाखा अधिकृतको विज्ञापन गर्ने तयारी गरिरहेको थियो ।

त्यस्तै, सरकारले नेपालको हालको शैक्षिक जनशक्तिको अवस्थाको अध्ययन गरी आगामी दिनमा कस्ता जनशक्ति आवश्यक पर्छन् भन्ने विषयमा विस्तृत अध्ययन गरी सुझाव दिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गरेको छ ।

उक्त समितिले नेपालको इन्जिनियरिङ, चिकित्सा, वाणिज्य लगायत कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति रहेको छ र देशलाई कस्ता जनशक्ति आवश्यक पर्छ भन्ने विषयमा विस्तृत सुझाव दिने मन्त्री ज्ञवालीले बताए । यस समितिले ६ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय दिइएको छ ।

यसैगरी सरकारले मेडिकल शिक्षामा यस वर्ष शुल्क वृद्धि गर्न नपाइने निर्णय पनि गरेको छ । विगतमा मेडिकल शिक्षाको शुल्क निर्धारण गर्न गठित कार्यदलले तोकेको शुल्क भन्दा बढी लिन नपाइने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

सरकारले जमलमा विगतमा जनप्रशासन क्याम्पस रहेको ठाउँमा राष्ट्रिय पुस्तकालय राख्ने निर्णय पनि गरेको छ । त्यस्तै जनकपुर जयनगर रेल वेमा नेपाली झण्डासहितको रेल चलाउन आवश्यक कानुन लगायतका अन्य संरचना निर्माणको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

तपाइको मत