निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी – स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठी

२४ चैत्र ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रशासनको बनावटै दोषपूर्ण रहेको बताएका छन् ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

उनले प्रशाासन समूहका निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको दाबी गर्दै भने, ‘म बडा स्पष्टताका साथ अनुभवका आधारमा भन्दैछु, हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । त्यसको बनावटै दोषपूर्ण छ ।’

उनले प्रशासन समूहका व्यक्ति आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको बताउँदै प्रावधिकहरुको संख्या अत्यन्त कम रहेको बताए ।

यस्तै नेपालमा विकास बजेट खर्च नहुनुको मुख्य कारण प्राविधिक कर्मचारी कम रहनु रहेको पनि उनले बताए ।