निजी अस्पतालमा विपन्नले अपरेशन बाहेकका उपचारमा १० प्रतिशत निःशुल्क सेवा पाउने

२७ मंसिर, काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले देशभर स्वास्थ्य संस्थानहरुलाई यही पुस १ गतेदेखि १० प्रतिशत निःशुल्क उपचार सेवा कार्यान्वयन गर्न निर्देशन दिएसँगै निजी अस्पतालमा विपन्न तथा असहायले पनि उच्चस्तरीय सेवा पाउने भएका छन् ।

gagan

त्यसैगरी, अपाङ्गता भएका, जेष्ठ नागरिक तथा एकल महिलाहरुले पनि आफू विपन्न भएको प्रमाणित गरेमा कुनै पनि सरकारी तथा गैरसरकारी अस्पतालबाट यो सेवा लिन सक्नेछन् ।

निःशुल्क उपचार सेवा अन्तर्गत अपरेशन सेवा बाहेकका चिकित्सक परार्मश शुल्क, शैया शुल्क, नर्सिङ्ग शुल्क, अस्पतालमा उपलब्ध डाइगोनोष्टिक शुल्क तथा अक्सिजन शुल्क रहेको छ ।

निःशुल्क उपचार सेवा लिनका लागि कुनै पनि विपन्न वर्गले गाविस, जिविस, नगरपालिका, जिल्ला विकास कार्यालय, स्थानीय विकास समिति लगायत जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लिन सक्नेछन् । काठमाडौंको हकमा वीर अस्पतालले समेत सिफारिस गर्न सक्नेछ ।

वीर अस्पतालमा आएको कुनै पनि वेवारसे विरामीलाई वीर अस्पतालले रिफर गरेर पठाएको खण्डमा काठमाडौका कुनै पनि अस्पतालले दश प्रतिशत भित्र रहेर निःशुल्क उपचार सेवा प्रदान गर्नु पर्नेछ ।

स्वास्थ्य मन्त्री थापाले विपन्न तथा असहायलाई १० प्रतिशत निःशुुल्क उपचार व्यवस्था गर्नकै लागि देशभरका अस्पताललाई परिपत्र समेत गरिसकेको बताए ।

तपाइको मत