१३ माघ ०७८, तनहुँ । ब्रिटिश काउन्सिल नेपालले व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्रदान गरेको छ ।
सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गरेको हो ।
विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले दिएको जानकारीअनुसार विद्यालयले सन् २०२०÷२१ का लागि विभिन्न सातवटा परियोजना गरेर काउन्सिलमा प्रस्ताव पेश गरेको थियो ।
उनले विद्यालयभित्र स्थानीय पाठ्यक्रममा आधारित रहेर विभिन्न क्रियाकलाप सञ्चालन गर्नुका साथै विद्यालयले विदेशी विद्यालयसँग पनि सम्बन्ध राखेर त्यहाँको विद्यार्थीबीच शिक्षण सिकाइ आदान–प्रदान गरिएको बताए ।
सन् २०१२ यता नेपालका ४९३ विद्यालयले यस अवार्डका लागि भाग लिएको भए पनि १४६ विद्यालयले मात्रै अवार्ड प्राप्त गरेको काउन्सिलले जनाएको छ ।













