निर्वाचनको मिति सहमतिमै सारिएको यादवको दाबी : सहमति नभएको महतोको जिकिर

३ असार ०७४, काठमाडौं । नेपाली काँग्रेसका नेता महेन्द्र यादवले दुई नम्बर प्रदेशको निर्वाचनको मिति राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमै सारिएको दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा गायक बासुदेव रेग्मी ‘सप्तरंगी’को राष्ट्रिय गीतको बिमोचन गर्दै यादवले यस्तो दाबी गरेका हुन् ।

विमोचनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजपासँग पूर्ण सहमति गरेर नै सरकारले तेस्रो चरणको निर्वाचनको मिति सार्वजनिक गरेको दाबी गरे ।

‘अब मधेशी जनता कुनैपनि हालतमा निर्वाचनमा जान्छन्, आज मोर्चासँग जनमत नभएको भन्ने उदाहरण आउँदैछन्’ उनले भने, ‘मोर्चाका जायज मागहरुलाई सम्बोधन गरेर सरकार निर्वाचको वातावरण बनाउन तयार छ, यसमा मोर्चाले लचकता देखाउनुपर्छ, काँग्रेस मुलुकलाई निकास दिनको लागि पुर्ण क्रियाशिल छ।’

निर्वाचनको मिति सार्ने निर्णयमा आफूहरुको कुनैपनि सहमति नरहेको महतोको जिकिर

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले २ नम्बर प्रदेशको निर्वाचनको मिति सार्ने निर्णयमा आफूहरुको कुनैपनि सहमति नरहेको जिकिर गरेका छन् ।

महतोले शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा दोस्रो चरणको चुनावमा कुनै हालतमा भाग नलिने बताउँदै प्रमुख तीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेको भन्दै उनले त्यसलाई रोक्न आन्दोलनमा गएको दाबी गरे ।

‘तीनदलले देशलाई भाँड्न र विखण्डन गर्न लागेकोले बाध्य भएर हामीले शान्तिपूर्ण आन्दोलन सार्वजनिक गरेका हौं ।’ राजपाका नेता महतोले भने, ‘यो के गर्न खोजेको हो ? मधेस र थरुहट एक हुनै नदिने ? मैले हजारचोटी भनिसकें, तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यिनीहरुले मुलुकलाई समस्यामा फसाउने कामगरिरहेका छन् ।’

तपाइको मत