५ मंसिर ०७४, काठमाडौं । पहिलो चरणको निर्वाचनको ५ दिनअघि सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको व्यापक सरुवा गर्न थालेको छ ।
गृहमन्त्रालयको कार्यभार समेत सम्हालेका बेला देउवा आफैंले चुनावलाई प्रभावित पार्ने गरी प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।कैलाली, नुवाकोट लगायतका जिल्लामा प्रहरी प्रमुख फेरिए लगत्तै सरकारले सिडिओहरुको सरुवा शुरु गरेको हो ।
पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।
सोलुखुम्बुका सिडिओ भुपेन्द्र खत्रीलाई कांग्रेस नेता बलवहादुर केसीको दबाबमा सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ ।
त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणिन्द्र दाहाललाई सिडिओ बनाएर पठाइएको छ ।
स्रोतका अनुसार रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । कांग्रेस नेताहरुको दबाबमा नुवाकोटमा जगदिशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।
गृहमन्त्रालयका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा भएको बताए ।













