सिन्धुपाल्चोक । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेको नागरिकन्युजमा खबर छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस गरी पठाएको हो ।
‘असहयोगी कर्मचारीलाई बिभागीय कार्वाही गर्न सिफारिस गरी आयोगमा लेखी पठाएका छौँ,’ निर्वाचन सकिएपछि त्यसको समीक्षा गर्न आइतबार आयोजित पत्रकार भेटघाटमा मुख्य निर्वाचन अधिकृत दीपक खनालले भने ।
उनले निर्वाचन गराउने अभिभारा सुम्पेर खटाएको मतदान केन्द्रमा नजाने कर्मचारी कारबाही सिफारिसमा परेका हुन् । खनालको अनुसार धेरै कर्मचारी खटाएको केन्द्रमा गएनन् भने केही कर्मचारी सरुवा भएको भन्दै त्यसको जानकारी कार्यालयमा नदिएर निर्वाचनमा असहयोग गरे ।
‘कारबाही सिफारिसमा पर्नेमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसम्म छन्,’ उनले भने ।
उनीहरुको दोषको प्रकृति हेरी आयोगले विभागीय कारबाहीका लागि सम्वन्धित विभागमा अनुरोध गर्ने खनालले जनाए ।
जिल्ला न्यायाधीश खनालका अनुसार बिभागीय कार्वाहीका लागि सचेत गराउने, नसिहत दिने, बढुवा, तलवभत्ता रोक्का गर्ने लगायत व्यवस्था छ ।
प्रतिनिधिसभा क्षेत्र नं. १ तर्फ ५० र क्षेत्र नं. २मा ३८ कर्मचारी बिनासम्पर्क र जानकारी खटाएको मतदान केन्द्रमा गएका थिएनन् ।