निर्वाचनमा पार्टी तेस्रो भए पनि माओवादी केन्द्रकाे मुद्दाको जित – गृहमन्त्री शर्मा

१९ असार ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनको नतिजाले पार्टी तेस्राे भए पनि नेकपा माओवादी केन्द्रकाे मुद्दाको जित भएको बताएका छन् ।

सोमबार बिहान पत्रकार ऋषि धमलासँगकाे कुराकानीकाक्रममा मन्त्री शर्माले हालै सम्पन्न भएको स्थानीय तहको दुवै चरणको स्थानीय तहको निर्वाचनको नतिजालई माओवादी केन्द्रले सहर्ष स्वीकार गरेको बताएका हुन ।

जनताले उत्साहपूर्ण तरिकाले स्वतन्त्र भएर मत जाहेर गरेकाले आफ्नो पार्टीले अपेक्षित नतिजा हात नपारे पनि मुलुकका लागि फाइदा नै भएको शर्माको तर्क छ ।

“जनताले जसलाई मतदान गरे त्यही सत्य हो, सत्यलाई स्वीकार्नु पर्छ” शर्माले भने ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा भएका कामलाई जनतासमक्ष पु¥याउन नसक्नुलाई पार्टीले कमजोरीको रुपमा व्याख्या गरेको गृहमन्त्री शर्माले जानकारी दिए ।

जनताका लागि हित हुने धेरै काम गरे पनि त्यसको तथ्य जनतामाझ नपुगेको शर्माको भनाई छ । पार्टीको नीति र नेतृत्व सफल भएको दाबी गर्दै शर्माले दाहाल नेतृत्वको सरकारले देशलाई नयाँ गति दिएको दाबी गरे ।

जनतामाझ कतिपय कुरा भ्रमपूर्ण तरिकाले पु¥याइएकाले पनि माओवादी कमजोर देखिएको शर्माको जिकिर छ ।

संविधान संशोधन गर्न नसकेको मत परिणाममा प्रभावित भएको हो कि भन्ने प्रश्नको जवाफ दिँदै शर्माले भने,“संविधान संशोधन गर्नु हुँदैन भन्नेहरुको नै मत धेरै आएकाले संविधान संशोधनको कुराले मत परिणाम प्रभावित भएको मान्न सकिदैन ।”

चुनावी नतिजामा पार्टी तेस्रो शक्ति भएपनि मुलुकका लागि माओवादी केन्द्रले ल्याएको मुद्दाको जित भएको भन्दै शर्माले आफ्नो पार्टीका मुद्दाहरु स्थापित भएकोप्रति गर्व महशुस गरेको दाबी गरे ।

तपाइको मत