२५ असोज ०७४, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका ६ का ६० वर्षीय बाहादुर सदालाई गाउँको वडा अध्यक्ष बन्ने ठूलो रहर थियो । त्यही रहर पूरा गर्न उनी हालै सम्पन्न स्थानीय तहको तेश्रो चरणको निर्वाचन अघि विभिन्न पार्टीका स्थानीय नेताहरुको घरको चक्कर लगाउँदैमा हैरान बने । तर, कसैले पत्याएनन् ।
कुनै पार्टीबाट टिकट पाउने छाँटकाँट नदेखेपछि अन्तमा उनी स्वतन्त्र रुपमै चुनाव लड्ने निर्णयमा पुगे । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका उनी निकटतम् प्रतिद्वन्द्वी भन्दा १९ मत बढी ल्याई बिजयी पनि भए ।
चुनावका बेला टिकटका लागि नेताहरुको घर चहार्दै एक जोर चप्पल खियाई सकेको बताउने तिनै सदालाई अहिले आ-आफनो पार्टीमा भित्र्याउन विभिन्न दलका नेताहरुको दौडधुप हुन थालेको छ ।
मधेशको अधिकार स्थापित र विकास राजपाबाट मात्रै सम्भव
घरमा नेताहरुको दौडधुप बढ्न थालेपछि दवाब थेग्न नसकेका उनी अघिल्लो दिन मंगलबार राष्ट्रिय जनता पार्टीमा प्रवेश गरे । उनलाई राजपा सप्तरीका संयोजक सुनिल झा र केन्द्रीय सदस्यद्वय दिनेश यादव र रामपृत यादवलगायतले फुलमाला अविर लगाई भव्य स्वागत गर्दै पार्टी प्रवेश गराए ।
सो अवसरमा उनले भनेका थिए, ‘मधेशको अधिकार स्थापित र विकास राजपाबाट मात्रै सम्भव भएकाले राजपा रोजेको छु ।’
हिजो भूलवस राजपामा प्रवेश गरेको थिएँ, त्यसलाई सच्याउँदै आज नेपाली कांग्रेसमा
तर, वडाध्यक्ष बाहादुर सदाको त्यो रोजाई र बोली २४ घण्टा पनि टिकेन । त्यसको भोलिपल्ट बुधबार नै उही सदा राजपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई सप्तरीका कांग्रेस सभापति दिनेश यादवले फुलमाला अविर लगाई पार्टीमा भित्र्याएका छन् । सो अवसरमा सदाले भने, ‘हिजो भूलवस राजपामा प्रवेश गरेको थिएँ, त्यसलाई सच्याउँदै नेपाली कांग्रेसमा प्रवेश गरेको हुँ ।’
उनले बुधबार पनि अघिल्लो दिनको अभिव्यक्तिलाई संशोधन गर्दै कांग्रेसबाट मात्रै मधेशको हित र विकास सम्भव भएकाले कांग्रेसमा प्रवेश गरेको बताए ।
दुई दिनमा दुई वटा पार्टी फेर्नुले तपाईको विश्वसनीयता घट्दैन र ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘राजनीतिक मैदानमा यस्तो खेल भइरहन्छ ।’
एमाले र कांग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस
राजविराज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले सम्भावित उम्मेदवारको नाम अनुमोदनका लागि सिफारिस गर्न थालेका छन् ।
बुधबार नेपाली कांग्रेस र नेकपा एमालेले सम्भावित उम्मेदवारहरुको नाम पार्टी केन्द्रीय समितिलाई सिफारिस गरेका छन् ।
चार वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सप्तरीका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि ५ र प्रदेश सभाका लागि १५ जनाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा उम्मेदवारका लागि क्षेत्र नं. १ बाट सुमनराज प्याकुरेल, २ बाट नथुनी दास र रञ्जु झा, ३ बाट ताराकान्त चौधरी र ४ बाट आदिवासी मुलवासी पार्टीका मो. ईस्लामको नाम सिफारिस गरिएको एमाले सप्तरीका अध्यक्ष गोबिन्द बहादुर न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार ईस्लामले सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।
यसैगरी प्रदेश सभाका लागि प्रत्यक्षतर्फ १ को (क) बाट सत्यनारायण मण्डल, प्रकाश खतिवडा र फुदनीदेवी सदा (ख) बाट लक्ष्मण मण्डल, खोजेदा खातुन २(क) बाट बन्दना मिश्र, सुरेशकुमार सिंह, सुगियादेवी सिंह (ख) बाट परमानन्द मेहता, सूर्यनारायण यादव र अनुरागीदेवी मण्डल ३(क) बाट महेशप्रसाद चौधरी तथा ३(ख) बाट मो. अब्दुल मजिद साकिर तथा ४(क) बाट गोविन्द न्यौपाने र रामनारायण चौधरीको नाम सिफारिस भएको छ । ४(ख) बाट भने उम्मेदवारको नाम टुंगो लागेको छैन् ।
यसैगरी समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि १५ र प्रदेश सभाका लागि ८० जनाको नामको सिफारिस गरिएको अध्यक्ष न्यौपानेले बताए ।
यता नेपाली कांग्रेसले पनि प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं. १ बाट हेमनारायण चौधरी, रामदेव साह, महेन्द्रप्रसाद यादव, २ बाट डा. अनिल झा, सकलदेव सुतिहार, रञ्जित कर्ण, रामकुमार यादव र निलम कर्ण, ३ बाट दिनेश यादव तथा ४ बाट तेजुलाल चौधरी, फत्तेह मोहम्मद र सरेन्द्रप्रसाद यादवको नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेश सभातर्फ १(क) बाट रघुमार सिंह थारु, चन्द्रशेखर चौधरी, रमेश खतिवडा, युगेश्वर प्रसाद यादव, उमेशकुमार बस्नेत, शेषनारायण श्रेष्ठ र मौजेलाल यादव १(ख) बाट वद्रिनारायण महात्मन यादव, हेमन्त जैन र उमेशकुमार मिश्र २(क) बाट महानन्द यादव, कृष्णदेव दास, महेन्द्र यादव, श्रीमती तारा मिश्रा, श्याम खड्गी र मो. इर्शाद २(ख) बाट सनत मण्डल, राधेश्याम यादव, अरुणकुमार मण्डल, मालतीदेवी साहको नाम सिफारिस भएको कांग्रेस सभापति दिनेश कुमार यादवले बताए ।
यसैगरी ३(क) बाट भगवती प्रसाद यादव, गिताकुमारी यादव र सुरेन्द्रप्रसाद यादव ३(ख)बाट रामप्रसाद मण्डल, मो. समिम र सवुरलाल साह ४(क) बाट मो. उल्फत, सिताराम साह, सुस्मा चौधरी, गिता चौधरी, राजकुमार न्यौपाने, हृदयनारायण चौधरी र जयनारायण चौधरी तथा ४(ख)बाट रामुप्रसाद यादव, रामवल्लभ साह, राजाराम झा र शान्तिकुमारी साहको नाम सिफारिस भएको सभापति यादवले जानकारी दिए ।
कांग्रेसले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेशसभा गरी करिव १ सय भन्दा बढीको नाम सिफारिस गरेको छ ।