निर्वाचन आयोगद्वारा तीन वटा निर्वाचन चिन्हहरुमा सामान्य हेरफेर

२९ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिन्हमध्ये तीन वटा निर्वाचन चिन्हहरुमा सामान्य हेरफेर गरेको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले शनिबार विज्ञप्ति जारी गरेर निर्वाचन चिन्हको अनुसूचीमा हेरफेर गरिएको जानकारी दिएका हुन् ।

“प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिन्हको अनुसूचीमा हेरफेर गरिएको हो,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो ।”

हेरफेर गरिएका निर्वाचन चिन्हसहितको विवरण आयोगको वेभ साइटमा राखिएकोे उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह लौरो र अनुसूची—३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिन्ह अन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा समेत हेरफेर गरिएको छ ।”