निर्वाचन आयोगले सोध्यो काँग्रेस उम्मेदवार जोशीलाई स्पष्टीकरण

१५ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई स्पष्टीकरण सोधेको छ ।

कुश्मा नगरपालिका–१४ आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपि कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले उनलाई स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ ।

आयोगले विद्यालयमा कपि कलम वितरण गर्ने कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको उल्लेख गर्दै स्पष्टीकरणमा सोधेको छ, ‘तपाईंबाट कपि कलम वितरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट उक्त कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’

उनलाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।