निर्वाचन सामग्री ५१ जिल्लामा ढुवानी, दुर्गम पहाडी आठ जिल्लामा सम्पन्न

१३ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले उक्त सामग्री दुर्गम पहाडी आठ जिल्लामा ढुवानी सम्पन्न गरेको हो ।

आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ५७ प्रकारका सामग्रीहरू ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।

यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाई सकेको आयोगले जानकारी दिएको छ ।