३१ असार ०७९, कास्की । पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले जग्गा भाडामा लगाउन गरेको सम्झौता पोखरा उपत्यका नगर विकास समितिले खारेज गरेको छ ।
करिब ६३ रोपनी जग्गा कार्यकाल सकिनु २ दिनअघि आफ्नो नातेदारलाई ठेक्कामा दिन निवर्तमान मेयर जिसीले गरेको सम्झौता नगर विकास समितिले खारेज गरेको हो ।
नगर विकास समितिको ३ ठाउँको गरी करिब ६३ रोपनी जग्गा अपारदर्शी ढंगले कौडीको भाउमा भाडामा लगाइएको विषय सतहमा आएपछि नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
जग्गा भाडा सम्झौता प्रकरणमाथि छानविन गर्न गठित समितिले निवर्तमान मेयर जिसी साथै कर्मचारीहरुको मिलेमतोमा गैरकानुनी रुपमा सम्झौता भएको प्रतिवेदन तयार पारेर बुझाइसकेको छ ।
यस सम्बन्धमा छानविन समिति संयोजक दिनेश काफ्लेले भने, ‘थप अनुसन्धान गर्न, जग्गा तथा संरचना भाडामा लगाउने सम्झौताहरुसँग सम्बन्धित सम्पूर्ण सक्कल कागजातसहित सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लेखी पठाउन उपयुक्त हुने राय पेश गरेका छौं ।’
नगर विकास समितिको शुक्रबार बसेको बैठकले समितिको प्रतिवेदनका आधारमा भाडा सम्झौता खारेज गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं मेयर धनराज आचार्यले जानकारी दिएका छन ।
मेयर आचार्यकाअनुसार बाँकी कानुनी प्रक्रियाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई लेखेर पठाउने निर्णय भएको छ ।













