निवर्तमान सांसदको सिफारिस भएका योजना रद्द गर्न निर्वाचन आयोगको निर्देशन

१२ कार्तिक ०७४, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र विकास कार्यक्रममा रोक लगाउनुका साथै निकासा रोक्न निर्देशन दिएको छ ।

आइतबार बसेको आयोगको बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कार्यक्रम कार्यान्वयनमा रोक लगाएको हो ।

संसदको कार्याकाल समाप्त भएकाले पूर्वसांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्यवन, नयाँ कार्यक्रम छनोट गर्ने र रकम निकासा गर्न नमिल्ने आयोगले बताएको छ ।

साथै, यसबारे अनुगमन गरी भोलि सोमबार प्रतिवेदन पठाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकाररुलाई निर्देशन दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ बाटै आचार संहिता लागू भएको छ । तर, आचार संहिता विपरीत निवर्तमान सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कार्यक्रमको रकम खर्च गरेका समाचारहरु सार्वजनिक भएका छन् ।

तपाइको मत